विष्णु प्रसाद अधिकारी
अध्यक्ष, गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

विष्णु प्रसाद अधिकारी
अध्यक्षगण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन
अध्यक्षको भनाई
आजका प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका प्रदेश सांसद माननीय मन्त्री विन्दु कुमार थापा ज्यू, विशिष्ट अतिथि नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्री गोपाल भट्टराई ज्यू, महासंघका केन्द्रीय पदाधिकारी, सल्लाहकार एवं सदस्य ज्यूहरू, विभिन्न जिल्लाबाट पाल्नु भएका जिल्ला अध्यक्ष एवं प्रतिनिधि ज्यूहरू, अतिथि गण लगायत गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनका पूर्व अध्यक्ष ज्यूहरू, निवर्तमान अध्यक्ष ज्यू, सल्लाहकार ज्यूहरू, पदाधिकारी एवं कार्यसमिति सदस्य ज्यूहरू, विभिन्न उपसमिति संयोजक, सदस्य ज्यूहरू, कार्यालय प्रमुख ज्यू, सञ्चारकर्मी ज्यूहरू, संस्थाका साधारण तथा आजीवन सदस्य ज्यूहरू, सहयोगदाता ज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्णमा न्यानो आतिथ्यता सहित म गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको अध्यक्ष विष्णु प्रसाद अधिकारीको तर्फबाट स्वागत गर्न चाहन्छु।
यस वर्ष संस्थाका आजीवन तथा साधारण सदस्य सहित सम्पूर्ण मेकानिक्सहरूको क्यालेण्डर छपाई एवं विमोचन र वितरण, वार्षिक उत्सव एवं रक्तदान कार्यक्रम, सीप स्तरोन्नति सम्बन्धि ९६ घण्टाको तालिम, व्यवसाय प्रवर्द्धन तथा वर्कसप व्यवस्थापन कार्यक्रम, डेङ्गु रोग निवारण सम्बन्धि सचेतनामूलक कार्यक्रम लगायतका कामहरू गरिएको जानकारी गराउन चाहन्छु। साथै संस्थाबाट कार्यक्रम गरिएको भए पनि उक्त कार्यक्रमको खर्च सोही कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य एवं उपसमिति संयोजकबाट सौजन्य गरी कार्यक्रम सम्पन्न गरिएको छ। यसका लागि सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु।
अटोल्याण्डको लागि जग्गा खोजी तथा बजेट पार्न सफल भएका थियौँ तर यसलाई पोखरा महानगरपालिकाले चासो नदिएकाले कार्यान्वयनमा ल्याउन सकिएन। यसका लागि सबैजना एकजुट भएर लाग्नु पर्ने देखिन्छ।
सडक यातायातका सवारी साधनको मर्मत सम्भारलाई विश्वसनीय एवं स्तरीय पार्दै आधुनिक सीप, ज्ञान र प्रविधिको बारेमा मेकानिक्स सदस्यहरूलाई प्रशिक्षित पार्दै सबै प्रकारका सदस्यहरूको हितलाई सर्वोपरि राखी सम्भव भएसम्म विधान र प्रचलित नियम कानुनभित्र रही संस्थाको प्रगतिका लागि सबै काम गर्ने गराउने, राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थामा सम्पर्क राखी आर्थिक, नैतिक सीप र ज्ञानको आदान प्रदान गर्दै अटो मेकानिक्स व्यवसायीहरूको साथै विभिन्न जिल्ला संघहरूको हकहितको संरक्षणका लागि यस गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखरा सदैव यहाँहरूसँग हातमा हात मिलाएर अगाडि बढ्ने छ।
यस संस्थाले स्थापना कालदेखि नै अटो क्षेत्रलाई आधुनिक विकासमा लैजान नयाँ नयाँ सीप र तालिमहरूलाई त्यत्तिकै महत्व दिँदै सम्भव भए सम्म तिनिहरूलाई अवलम्बन गर्ने प्रयास गर्दै आएको छ।
विगत १२–१४ वर्षदेखि पोखरामा अटोल्याण्डको आवश्यकता महसुस गरी अटोल्याण्ड व्यवस्थापनका लागि विभिन्न सम्बन्धित निकायहरूसँग निरन्तर भेटघाट र छलफलबाट पाएको आश्वासनबाट अटोल्याण्ड प्राप्तीमा ढुक्क भइरहँदा हाल आएर स्थानीय सरकारको मौनताले गर्दा यसप्रति नैराश्यता बढेकोमा आगामी दिनहरूमा महासंघको अवधारणा अनुरूप “एक शहर एक अटोल्याण्ड” को नारालाई सार्थकता दिँदै विभिन्न जिल्लाहरूमा प्रदेश सरकारमार्फत अटोल्याण्डका लागि केन्द्रीय स्तरबाट नै अभिभावकत्वको भूमिका खेल्ने विश्वास लिएको छु।
अटो मेकानिक्सको व्यवस्थापन बिना विकास सम्भव छैन। अटो व्यवसाय राष्ट्रको मेरुदण्ड हो। आगामी दिनमा राज्यले अटोमेकानिक्स पेशालाई पनि उत्तिकै महत्वपूर्ण नजरले हेर्नेछ भन्ने विश्वास लिएको छु।
आगामी दिनहरूमा पनि संस्थाको हितको लागि सम्पूर्ण सदस्य ज्यूहरूले सहयोग गर्नुहुनेछ भन्ने आशा एवं विश्वास राख्दै आजको यस भव्य एवं सभ्य समारोहमा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, पत्रकार ज्यूहरूमा धन्यवाद एवं आभार प्रकट गर्दै यस कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

